गण्डकी । कास्कीको रुपा गाउँपालिकाले डढेलोबाट वन जोगाउन सफल सामुदायिक वन समूहलाई २० हजार नगद पुरस्कार दिने घोषणा गरेको छ ।
सामुदायिक वन दिवसका अवसरमा ठूलो वन समूहद्वारा निर्मित हरियाली पार्कमा आयोजित वृक्षारोपण कार्यक्रममा गाउँपालिका अध्यक्ष नवराज ओझाले वन जोगाउन सफल सामुदायिक वन समूहलाई नगदसहित पुरस्कृत गर्ने घोषणा गरेका हुन् ।
वन क्षेत्रमा आगो लगाउँदा जैविक विविधता, वनमा रहेका वनस्पति, जीवजन्तुसहित वातावरणीय असर पर्ने हुँदा त्यस्तो आपराधिक काम रोक्न पालिकाले चालु आर्थिक वर्षदेखि पुरस्कृत गर्ने अध्यक्ष ओझाले जानकारी दिए । उनले भने, ‘डढेलोबाट वन जोगाउन सामूहिक प्रयासको खाँचो छ । वन संरक्षणमा लाग्ने, डढेलो लाग्ने नदिने समूहलाई प्रोत्साहनस्वरुप पुरस्कृत गर्नेछौँ ।’
महासङ्घको आयोजना एवं डिभिजन वन कार्यालय कास्की र (युएसएआडी) जलजङ्गलको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा असोका, धुपी, तेजपात, अमलालगायत विभिन्न प्रजातिका ४० वटा बिरुवा रोपिएको थियो ।