टर्कीको एयरोस्पेस र डिफेन्स कम्पनी टुसासमा आक्रमण भएको छ । यस आक्रमणमा हालसम्म ४ जनाको मृत्यु भइसकेको र १४ जना घाइते भएको मिडिया रिपोर्टमा उल्लेख छ ।
राजधानी अंकाराबाट ४० किलोमिटर टाढा काहरामानकाजानमा आक्रमण भएको थियो । आक्रमणकारीहरू ट्याक्सीमा आएर अन्धाधुन्ध गोली चलाएको सार्बजनिक भएका सिसिटिभी फुटेजमा देख्न सकिन्छ । उनीहरु त्यहाँ पुगेपछि पहिले बम विष्फोट गरेर त्यसपछि गोली चलाउन थालेको बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार ट्याक्सीमा जम्मा ३ जना सवार थिए । उनीहरुमध्ये एक महिला पनि थिइन् । तीमध्ये एक आत्मघाती हमलावर थिए, जसले आफूलाई बम विष्फोट गराए । बाँकी २ जनाले मानिसमाथि गोली चलाउन थालेको बताइएको छ ।
अहिले घटनास्थलमा सुरक्षा बल, एम्बुलेन्स र दमकल पठाइएको छ । स्थानीय मिडियाका अनुसार यस कम्पनीमा करिब १५ हजार मानिस काम गर्छन्।
टर्कीमा यसअघि पनि यस्ता आक्रमण भएका छन् । उनीहरुको पछाडि चरमपन्थी संगठन कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) को नाम आएको छ । स्थानीय सञ्चारमाध्यममा पनि यो हमलाको पछाडि उनको हात रहेको आशंका गरिएको छ ।
पिकेकेको स्थापना १९७८ मा अब्दुल्ला ओकलनद्वारा गरिएको थियो । पीकेकेले यसअघि टर्कीमा धेरै आतङ्ककारी घटनाहरू गराइसकेको छ ।