काठमाडौं । खोटाङकी एक चर्चित युट्युबर उमा चाम्लिङ राई सिक्किममा पक्राउ परेकी छिन् ।सिक्किमको लोकसेमा आयोजना भएको साकेला नाचमा निम्तो दिएको भिडिओ सार्वजनिक गरेकी उनलाई त्यसैको आधारमा पक्राउ गरिएको हो ।
सिक्किमको राजधानी गान्तोकबाट पुगेको प्रहरी टोलीले उमालाई पक्राउ परेको हो । सिक्किमको सत्ताधारी सिक्किम क्रान्तिकारी मोर्चाकी सदस्य सिला राईले दिएको जाहेरीको आधारमा उमा पक्राउ परेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । राई शनिवार पक्राउ परेकी हुन् ।
भारतको मूलधारको मिडिया इन्डिया टूडेमा सिक्किमका पत्रकार सुजल प्रधानले लेखेको समाचार अनुसार आगामी चुनावलाई लक्षित गरेर उमा राईले ‘साम्प्रदायिक’ तथा ‘आतङ्ककारी हिंसा’ भड्काउन षडयन्त्र गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।उमा राईले सिक्किमका विभिन्न समुदायको सामुदायिक हिंसा भड्काउन प्रवर्द्धन गरेको भन्दै परेको निवेदनको आधारमा पक्राउ गरिएको इन्डिया टूडेले उल्लेख गरेको छ ।
इन्डिया टूडेका अनुसार उमा राईलाई अदालतमा हाजिर गराएपछि पाँच दिन थुनामा राखेर अनुसन्धान हुने भएको छ । भारतको मुलुकी अपराध संहिता अनुसार उमा राईलाई सजायको माग गरिएको इन्डिया टूडेले उल्लेख गरेको छ ।भारतको आधिकारिक सरकारी समाचार एजेन्सी पीटीटआईको समाचारअनुसार उमा राईले साम्प्रदायिक हिंसा भड्काउने भिडिओ राखेका कारणले उनलाई भारतको मुलुकी अपराध संहिता अनुसार पक्राउ परेको उल्लेख गरेको छ ।