Home अर्थतन्त्र घडेरी बेचेर सूर्यदर्शन सहकारीमा २२ लाख जम्मा गरेका थापामगरको हृदयघातले निधन

घडेरी बेचेर सूर्यदर्शन सहकारीमा २२ लाख जम्मा गरेका थापामगरको हृदयघातले निधन

0

काठमाडौं । पोखराको घारीपाटनस्थित एउटा घरको अँध्यारो कोठामा ५५ वर्षीया भगवती थापामगरका आँखामा आँसु झरिरहेछन्। सेतो कपडाले आङ ढाकेर बसेकी भगवतीका सामुन्ने उनका श्रीमान् वीरबहादुरको तस्बिर राखिएको छ। माला लगाइदिएको तस्बिरमुनि दियो बालिएको छ।

‘सहकारीले मेरा श्रीमानको जीवनभरको कमाइ खाइदियो। अहिले श्रीमान् पनि खाइदियो,’ उनी भनिरहन्छिन्।

वीरबहादुर करिब ३५ वर्षअघि लमजुङको श्रीभन्ज्याङबाट श्रीमतीका साथ पोखरा आएका थिए। सम्पत्तिका नाममा साथमा केही पनि थिएन। उनी गाडी चलाउन जान्दथे। इमानदारी उनको खास विशेषता थियो। गाडी चलाएर कमाएको पैसाले र इमानले उनलाई पोखरामा टिकाएको थियो।

उनले पोखराको सिसुवामा एउटा घडेरी जोडेका थिए। घर बनाउन सकेका थिएनन्। उमेर ढल्किँदै जाँदा काम गर्न सक्ने क्षमता घट्दै गयो। घडेरी यत्तिकै राख्नुभन्दा बेचेर सहकारीमा पैसा राख्ने र त्यसको ब्याजले घरखर्च चलाउने निधो गरे। पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक र कर्मचारीसँग सम्पर्क भयो। उनले पैसा त्यसमै जम्मा गरे।

उनका अनुसार वीरबहादुरले पोखरामा गाडी चलाएर दुई छोराछोरी पढाए। घडेरी बेचेर आएको २२ लाख रुपैयाँ ब्याजले घर चल्छ भन्ने ढुक्क भएर सूर्यदर्शन बचत तथा ऋण सहकारीमा जम्मा गरे। सहकारीले ब्याज दिन छाडेपछि वीरबहादुर र भगवतीको जीवनमा नसोचेको दुःख आइलाग्यो। जीवनभरको कमाइ अर्कैले खाइदिएपछि वीरबहादुर विरक्तिएका थिए। पैसा फिर्ता पाउन कहिले काठमाडौं धाए त कहिले पोखरामा हुने आन्दोलनमा सहभागी भए।

‘सूर्यदर्शन सहकारी पीडित संघर्ष समिति’ का संयोजक किरण श्रेष्ठका अनुसार काठमाडौंमा आन्दोलनमा सहभागी हुँदा वीरबहादुरले सहकारीका कोषाध्यक्ष कुमार रम्तेलसँग पैसा फिर्ता गरिदिन आग्रह गरेका थिए।

उनी चिनेजानेका गन्यमान्यलाई पनि सहयोगका लागि आग्रह गर्थे। छिमेकी भगवान पन्तसँग सहकारीले डुबायो भन्ने गुनासो गर्थे। पाँच दिनअघि वीरबहादुर दाइसँग भेट भएको थियो। जीवनभरको कमाइ सहकारीले खाइदियो, हातमुख जोर्नै गाह्रो भयो भन्दै आँखाभरि आँसु पारेका थिए,’ भगवानले भने, ‘सहकारीमा पैसा डुबेपछि विक्षिप्त जस्तै भएका थिए।’

उनका अनुसार पैसा डुबेपछि वीरबहादुर मधुमेह र उच्च रक्तचापका रोगी भएका थिए। आँखाको दृष्टिमा पनि समस्या भएको थियो। एकपटक आँखाको उपचार पनि गराएका थिए। वीरबहादुर यही पुस १२ गते अचानक बिरामी परे। अस्पतालले हृदयाघात भएको भन्यो। भोलिपल्ट १३ गते उनको मृत्यु भयो।

मर्नु अघिसम्म आफ्नो पैसा फिर्ता पाउन उनी जानुपर्ने जति ठाउँमा गएका थिए। सहकारीबाट आफ्नो पैसा उठाउन उनले सबै चिनेजानेकालाई गुहारे।

सूर्यदर्शन सहकारीबाट मात्रै झन्डै साढे एक अर्ब रुपैयाँ अपचलन गरेका संस्थापक सञ्चालक जिबी राई र अन्य सञ्चालकहरू फरार छन्। कोषाध्यक्ष कुमार रम्तेल र उपाध्यक्ष कैलाशकुमार दर्लामी मात्र पक्राउ परेका छन्।
सहकारीले ब्याज दिन छाडेपछि वीरबहादुरलाई ऋण लागेको थियो। खाना र घरभाडाकै लागि पनि ऋण लिनु परेको थियो। अहिले किरियाखर्च पनि छैन।

पोखरा महानगरको छानबिन प्रतिवेदनअनुसार सूर्यदर्शन सहकारीमा सर्वसाधारणले बचत गरेको १ अर्ब ३५ करोड रुपैयाँ अपचलन भएको छ। पूर्वअध्यक्ष एवं संरक्षक जिबी राईसहित १७ जना फरार छन्। सरकारले सञ्चालकहरूको नाममा रहेको सम्पत्ति लिलाम गरेर भए पनि छिटोभन्दा छिटो बचतकर्ताको रकम फिर्ता गराउनुपर्ने पीडितहरूको माग छ।

पोखरामा २०६५ सालमा सुरू भएको सूर्यदर्शन बचत तथा ऋण सहकारीका सञ्चालकहरूले अनेक कम्पनी खडा गरी गैरकानुनीरूपमा लगानी गर्ने गरेको छानविन प्रतिवेदनको निष्कर्ष छ। जिबी राई अध्यक्ष रहेको ‘ग्यालेक्सी टेलिभिजन’ चलाउने कम्पनी ‘गोर्खा मिडिया प्रालि’ मा पनि १० करोड रुपैयाँ लगानी भएको देखिएको छ।

Exit mobile version