गोरखा । नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेकी छन् ।
गोरखाकी फुञ्जोले बिहीबार बिहान ६ः२३ बजे सगरमाथाको चुचुरोमा पुगेर सगरमाथामा सबैभन्दा छिटो पुग्ने महिला आरोहीको कीर्तिमान बनाएकी हुन् । सगरमाथा आधार शिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार बुधबार दिउँसो ३ः५२ मा आधार शिविरबाट आरोहण सुरू गरी बिहीबार बिहान ६ः२३ बजे आरोही फुञ्जोले सगरमाथाको चुचुरोमा पाइला टेकेकी हुन् । उनले १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरी कीर्तिमान बनाएकी हुन् ।
यसअघि सन् २०१८ मा फुञ्जोले ३९ घण्टा ६ मिनेटमा सगरमाथाको शिखरमा पुगेर रेकर्ड बनाएकी थिइन् ।
पछि सन् २०२१ मा हङकङकी स्याङ यिन हङले २५ घण्टा ५० मिनेटमा सगरमाथा आरोहण गरेर बनाएको कीर्तिमान फुञ्जोले तोडेकी हुन् ।