जति बेला पनि रिस तपाईँको नाकको टुप्पामा हुन्छ ? कुराकानी गरिरहेको समयमा पनि एक्कासि रिस उठ्छ ? कार्यालयमा साथीभाइ वा हाकिमसँग कुरा गर्दा अनियन्त्रित बन्नु हुन्छ ? यी सबैलाई सामान्य लक्षण नसम्झिनुस् । किनकि यस्तो खालको रिसले बेचैनी र घबराहट उत्पन्न गर्छ, जसले डिप्रेसन पनि निम्त्याउन सक्छ । यति मात्र कहाँ हो र ? यस्ता व्यक्तिहरू आफ्नो लक्ष्यमा पुग्न सफल पनि हुँदैनन् । त्यसैले समयमै यस्तो रिसलाई नियन्त्रण गर्नुस् ताकि गम्भीर समस्याबाट बच्न सकियोस् ।
रिसाएर केही लाभ हुन्न । यसले उल्टै निश्चित दिशामा जानबाट तपाईँलाई रोक्छ । तपाईँ आफ्नो उद्देश्यबाट भड्किनु हुन्छ । कोर्टिसोल हर्माेनको सन्तुलन पनि बिग्रन सक्छ । कोर्टिसोलले तनाव प्रतिक्रियामा महत्त्वपूर्ण भूमिका खेल्छ । स्वास्थ्यको लागि कोर्टिसोलको पर्याप्त सन्तुलन जरुरी छ । त्यो भए आफूलाई कसरी शान्त राख्ने ?
आफूलाई शान्त राख्ने ५ उपायहरू
श्वासप्रश्वास नियन्त्रण गर्ने:
हेल्थलाइनको रिपोर्ट अनुसार तनावपूर्ण अवस्थामा आफ्नो श्वासप्रश्वास नियन्त्रण गर्नाले रिस नियन्त्रण गर्न मद्दत मिल्न सक्छ । यस्तोमा गहिरो सास फेर्न कोसिस गर्नुस् । यसका लागि ५ सेकेन्डसम्म आफ्नो सास रोक्नुस् अनि छोड्ने प्रक्रिया केही बेरसम्म दोहोर्याइरहनुस् । यसो गर्दा शान्ति र आराम मिल्छ ।
व्यवहारिक बन्नुस्:
रिसाउनबाट बच्न आफ्नो भावनामाथि नियन्त्रण राख्नुस् अनि व्यावहारिक हुनुहोस् । चर्को स्वरमा बोल्ने प्रयास नगर्नुस् । स्वरमा कुरा बोल्दा तपाईँको सामुन्ने रहेको मान्छेले ठिकसँग प्रतिक्रिया दिँदैनन् । बरु नरम भएर अनुरोध गर्नुस् ।
सोचेर बोल्ने:
कुरा कुरामा अनियन्त्रित हुनुहुन्छ भनेर बोल्नु वा मुख खोल्नु अघि सोच विचार गर्नुस् । रिसाउँदा मनमा दुबिधा उत्पन्न भएर राम्रो निर्णय लिन सकिन्न । हतार गर्नुको सट्टा आफूले बोल्ने हरेक शब्दमा विचार गर्नुस् ।
व्यायाम गर्ने:
अत्यधिक रिस मानसिक स्वास्थ्य बिग्रिएको संकेत पनि हुन सक्छ । त्यसैले तनाव कम गर्न र मुड सुधार्न हरेक दिन केहि समय मात्रै भएपनि व्यायाम गर्नुस् । यसो गर्दा शरीरमा कोर्टिसोलको स्तर कम हुन्छ र ह्याप्पी हर्मोन निस्कन्छ । यसले तपाईँलाई राम्रो महसुस गराउँछ ।
प्रकृतिमा रमाउने:
प्रकृतिले क्रोधलाई नियन्त्रण गर्न बामको काम गर्छ । त्यसैले रिस उठेको बेलामा घर वा अफिस जहाँ भएपनि हरियाली भएको ठाउँमा केही समय बिताउनुस् । यसले तपाईँले ताजगी अनुभव गर्नुहुनेछ र स्थितिमा सुधार आएको महसुस गर्न सक्नुहुनेछ ।