काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि लिइएको परीक्षाबाट मनोनयन सूची (म्याचिङ्) लिष्टमा परेका २ हजार ८५९ जना विद्यार्थीका नाम प्रकाशन गरेको छ ।
महानगरपालिकाले छात्रवृत्ति छनोट समितिको निर्णयअनुसार शनिबार सूची प्रकाशन गरेको हो ।
यसको विवरण इमेलबाट एसएमएसमार्फत् विद्यार्थीलाई पठाइएको जानकारी महानगरले दिएको छ । विद्यार्थीहरुले प्रवेश पत्र प्राप्त गरेकै विधिबाट आफ्नो शिफारिससम्बन्धी जानकारी पाउन सक्नेछन् ।
गत साउन ४ गते छात्रवृद्धिका लागि परीक्षा लिइएको थियो । नाम प्रकाशन भएका विद्यार्थी साउन १५ गतेभित्र भर्ना भइसक्नु जानकारी महानगरपालिकाले दिएको छ ।
विज्ञान विषयमा छात्रवृत्तिका लागि लागि १ हजार ७५७ वटा, व्यवस्थापन विषयमा २ हजार ४९३ वटा, कानुन विषयमा १३६ वटा, मानविकी विषयमा अध्ययनका लागि १७३ वटा र शिक्षा विषयका लागि ७० वटा कोटा रहेको छ ।