काठमाडौं । नक्कली कागजातका आधारमा ‘सेटिङ’ मिलाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा मोरङका विनोद कार्की पनि जोडिएका छन् । मोरङका ४५ वर्षीय कार्कीले ललितपुरको इमाडोलमा सीटी टुर्स ट्राभल सञ्चालन गरी नक्कली कागजातमा भिजिट भिसाको नाममा मानव तस्करी गर्ने गरेको खुलेको हो । कार्की नेपाली कांग्रेसका मोरङका नेतासमेत हुन् । कार्कीले नेपाली युवतीलाई खाडी मुलुकमा घरको कामदारको रुपमा भिजिट भिसामा पठाउने गरेको खुलेको हो ।
उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको छ । प्रहरीको अनुसन्धानका क्रममा कार्कीले नेपाली युवतीलाई खाडी पुर्याएवापत दुबईको विभिन्न कम्पनीबाट तीनदेखि पाँच लाख रुपैयाँ कमिसन लिने गरेको खुलेको छ । त्यसबाहेक कामका लागि जाने महिलालेसमेत नक्कली कागजात बनाइदिएवापत छुट्टै रकम बुझाउने गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी बताए । २०७९ मंसिरमा भएको चुनावमा कार्की कोशी प्रदेश सभाका सदस्यका लागि मोरङ क्षेत्र नम्बर २ (ख) बाट उमेदवार नै बनेका थिए । तर, उनी एमाले उम्मेदवारसँग पराजित भए । भिजिट भिसामा विदेश जान लागेका २४६ युवायुवतीको नक्कली कागजात कार्कीले बनाएको अनुसन्धानका क्रममा खुलेको छ ।