Home बैंक-वित्त/पुँजी बजार कर्णाली विकास बैंक समस्याउन्मुख, राष्ट्र बैंकले रोकिदियो निक्षेप संकलन

कर्णाली विकास बैंक समस्याउन्मुख, राष्ट्र बैंकले रोकिदियो निक्षेप संकलन

0

११ मंसिर, काठमाडौं । कर्णाली विकास बैंक समस्यामा देखिएपछि नेपाल राष्ट्र बैंकले निक्षेप लिन र कर्जा दिन रोक लगाएको छ ।

नेपालगन्जमा रहेको यस विकास बैंकमा निरीक्षण गर्दा तोकिए बमोजिमको पूँजीकोष अनुपात कायम नहुने देखिएको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत पुगेको लगायत समस्या देखिएपछि राष्ट्र बैंकले कारबाही गरेको छ ।

‘संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएकाले निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले सो संस्थालाई आजैका मितिबाट लागू हुनेगरी थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारबाही गरिएको ब्यहोरा सर्वसाधारणमा जानकारी गराइन्छ’ राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

खराब वित्तीय सूचकका बाबजुत पछिल्लो समय सेयर बजारमा यो कम्पनीमा कारोबारी हाबी देखिएका छन् । जसले गर्दा सेयर मूल्य हालसम्मकै उच्च प्रतिकित्ता ८४० रुपैयाँ छ । सोमबार मात्रै ५.६६ प्रतिशत मूल्य बढेको छ ।

यस विकास बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार तीन महिनामा खुद नोक्सानी १ करोड ९८ लाख रुपैयाँ छ ।

Exit mobile version