ओखलढुंगा । सरकारी निवासबाट चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मोलुङ गाउँपालिका ५ का तीन जना किशोरलाई प्रहरीले चोरीको आरोपमा पक्राउ गरेको हो । पक्राउ परेकाहरुको परिचय भने प्रहरीले गोप्य राखेको छ । उनिहरुले गत साउन १२ गते राती मोलुङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सरोज थापाको सरकारी निबासबाट कोही नभएको मौका पारी २ वटा ल्यापटप, २ थान मोबाईल फोन, २ थान हेडफोन लगायतका सामग्री चोरी गरेको खुलेको छ ।
थापा बिदामा रहेको बेला चोरी भएकाले फर्किएपछि चोरी भएको थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । खबरपछि उनिहरुलाई आईतबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बलिष्टर सिंहले जानकारी दिए ।
उनिहरुले चोरेको सामान मध्ये २ वटा ल्यापटप सदरमुकाम स्थित २ वटा पसलमा बिक्री गरेको खुलेको छ । ति सामानहरु समेत प्रहरीले बरामद गरेको छ । चोरीको आरोपमा पक्राउ परेका मध्ये एक जना भने सोही ठाउँका जनप्रतिनिधीकै परिवारका सदस्य समेत रहेको बताईएको छ । घटना बारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।