काठमाडौँ । नेकपा (एमाले) का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी, भ्रूण हत्या, बलात्कार र डाँका चोरी अभियोगमा मुद्दा दायर गरिएको छ । मुलुकी अपराध संहिता–२०७४ अनुसार उनी विरुद्ध प्रहरीमा फौजदारी कसुरमा जाहेरी दर्ता भएको बताइएको छ ।
एमालेमा सङ्गठित ३१ वर्षीय युवतीले उनलाई भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएकी हुन् । पीडितले हुलाकमार्फत पठाएको जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको पीडित युवतीले आरोप लगाएकी छन् । पीडितले प्रहरीमा दिएको जाहेरीमा काठमाडौँ महानगरपालिका–१० बबरमहलस्थित सनसाईन अपार्टमेन्ट र भारतको गुडगाउँस्थित तुलसी हेल्थकेयर अस्पतालमा बलात्कार गरेको उजुरी पत्रमा दाबी गरिएको छ । बस्नेतमाथि २ महिना १५ दिनको भ्रूण हत्या गरेको आरोप पनि रहेको छ ।
औषधी खुवाएर र अप्रेसन गरेर दुई पटक भ्रूण हत्या गरेको पीडितले आरोप लगाएकी छन् । मुलुकी अपराध संहिता २०७४ को दफा–१८८ को विपरीत भ्रूण हत्या गरेको कसुरमा बस्नेतलाई कारबाही गर्न माग गरिएको छ । बलात्कार र भ्रूण हत्याको प्रमाण लुकाउन बस्नेतको निर्देशनमा आफ्नो अपार्टमेन्टमा २०८० फागुन ८ मा बिहान डाँका चोरी गरिएको पनि पीडितको दाबी छ ।
उनले जाहेरीमा लेखेकी छन्– ‘बस्नेतको निर्देशनमा दुई जना युवाहरूले मेरो अपार्टमेन्टमा आएर मलाई कुटपिट समेत गरेर मोबाइल र अन्य इलेक्ट्रिक डिभाइस जबरजस्ती लिएर गएका हुन् ।’ बस्नेत सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषद्मा उद्योगमन्त्री थिए ।
पीडितले जाहेरीमा दाबी गरेअनुसार प्रहरीले प्रमाण सङ्कलन गरिरहेको छ । जाहेरी दर्ता भएसँगै राष्ट्रिय युवा संघको संयोजक समेत रहेका बस्नेतलाई प्रहरीले सोधपुछ गरेको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्–‘उहाँसँग हामीले त्यसबारे सोधपुछ गरेका छौँ ।’ प्रहरीले पीडितको दाबीलाई भेरिफाई गरिरहेको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्–‘मुद्दा अगाडी बढाउने आधार खोज्दै छौँ ।’ पीडित युवतीले चैत ७ मा प्रहरीमा जाहेरी दिएकी हुन् ।