काठमाडौं । नेकपा एमालेले अब हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने भएको छ । केहि दिनअघि मध्यपहाडी राजमार्ग केन्द्रित अभियान सकेको एमालेले अब हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने भएको हो ।
एमालेका महासचिव शंकर पोखरेलले मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यसबारे जानकारी दिएका हुन् । उनले भने, ‘मध्यपहाडी यात्रा अभूतपूर्व रुपमा सफल भयो, यसबाट हामी उत्साहित छौं । अब पार्टीले हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने निर्णय गर्छ ।’ तर हुलाकी राजमार्ग केन्द्रित यात्रा सुरु हुने मिति भने तय भइसकेको छैन ।
नेकपा एमालेले गत मंसिर १४ गतेदेखि पुस ३ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी राजमार्ग केन्द्रित अभियान चलाएको थियो । एमालेले पुस ५ गते काठमाडौंमा बैठक बसेर उक्त अभियानको समीक्षा गर्दै छ ।