Home अपराध खबर एनपीएलमा सट्टेबाजी गरेको आरोपमा चार जना पक्राउ

एनपीएलमा सट्टेबाजी गरेको आरोपमा चार जना पक्राउ

0

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले चार जनालाई पक्राउ गरेको छ । सोमबार दुई जना तथा मंगलबार थप दुई जना गरी प्रहरीले चार जनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने चारै जना भारतीय नागरिक रहेका छन् । सोमबार प्रहरीले कोलाकाता घर भएका दुई जनालाई पक्राउ गरेको थियो भने मंगलबार बिहार घर भएका दुई जनालाई पक्राउ गर्न सफल भएको छ ।

कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको एनपीएलमा सट्टेबाजी हुनसक्ने आशङ्कामा प्रहरीले अनुसन्धान गरिरहेको छ । सट्टेबाजीमा प्रयोग हुने वानएक्स बेटका नेपाली एजेन्ट र अन्य बेटिङमा प्रयोग हुने अनलाइनबारे अनुसन्धान थालिएको सीआईबीका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले बताए । उनले भने, ‘क्रिकेटमा सट्टेबाजी हुनसक्नेबारे कडा निगरानी राखेका छौँ ।’

ब्यूरोबाट प्रहरी उपरीक्षक नेतृत्वको टोलीले त्यसबारे निगरानी गरिरहेको छ । मैदानमा पनि गतिविधि हेरिने बोगटीले जानकारी दिए ।

ब्यूरोले पछिल्लो समय वुल्फ–७७७ नामको अनलाइन एपलाई कारबाही गरेको थियो । बेटिङ गर्न खोलिएका अनलाइन र बेटिङमा यसअघि संलग्न भएकाहरूलाई पनि प्रहरीले निगरानीमा राखेको छ ।

त्यस्तै, उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि एनपीएलमा सट्टेबाजी हुनसक्ने आशङ्कामा त्रिवि क्रिकेट मैदानमा नै अनुसन्धान अधिकृतहरूलाई खटाएको छ । जुनियर अफिसरको कमान्डमा एउटा टिमलाई मैदानमा परिचालन गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए ।

Exit mobile version