यही माघ १६ गते रिलिज हुने चलचित्र ‘एक्टर: टेक वन’को ओभरसिज अधिकार धमाधम बिक्री भइरहेको छ । चलचित्रको अब, नेपालसँगै विश्वका अन्य विभिन्न मुलुकमा रहेका नेपाली दर्शकमाझ एकसाथ र केही देशमा दोस्रो हप्तादेखि प्रदर्शन हुनेछ ।
यो चलचित्रको ट्रेलरले पाएको लोकप्रियतासँगै यसको ओभरसिज अधिकार धमाधम बिक्री भएको हो । अमेरिकाको रिलिज अधिकार लिभेन्ट्स स्टुडियो र प्रोजेक्ट ऊर्जा, क्यानडाको अधिकार अस्त्र इभेन्ट्सले लिएको छ ।
त्यस्तै, युरोपमा निमा भुसालको नेतृत्वमा रहेको क्या दामी इभेन्ट्सले आइ पोपर्ससँगको सहकार्यमा रिलिज गर्दैछ । अस्ट्रेलिया र न्यूजिल्यान्डमा गिरीश इभेन्ट एन्ड इन्टरटेनमेन्ट र इस्सा भाइव इभेन्टले रिलिज गर्दैछन् भने जापानमा सचिन आचार्यले विभिन्न कम्पनीहरूको सहकार्यमा रिलिज गर्दैछन् । जापान र अमेरिका रिलिजको लागि चलचित्रका अभिनेता प्रदिप खड्का आफैँ जाने भएका छन् । नेपाल रिलिजपछि उनी त्यसतर्फ लाग्नेछन् ।
राजन भुसालद्वारा निर्देशित यो चलचित्रले ओभरसिज बजारमा पनि नेपाली चलचित्रको बजारलाई थप उचाइमा पुर्याउने विश्वास गरिएको छ । चलचित्रमा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ ।
चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । अधृत फिल्म्स् र मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।