Sunday, March 16, 2025
spot_img
Homeअपराध खबरउर्लाबारीमा १७ वर्षीया किशोरी बलात्कृत, रिसोर्ट सञ्चालक गुरुङ पक्राउ

उर्लाबारीमा १७ वर्षीया किशोरी बलात्कृत, रिसोर्ट सञ्चालक गुरुङ पक्राउ

मोरङको उर्लाबारीमा एक जना किशोरी अचेत अवस्थामा भेटिएपछि प्रहरीले रिसोर्टका सञ्चालकलाई पक्राउ गरेको छ ।

उर्लाबारीमा डेरा बस्दै आएकी १७ वर्षीया किशोरी उर्लाबारी नगरपालिका–४ आइतबारेस्थित नवराज भट्टराईको गाईगोठमा आइतबार बिहान अर्धचेत अवस्थामा भेटिएकी हुन् । उनलाई अचेत अवस्थामा देखेपछि बिहान ८ बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मिक्लाजुङ घर भएकी किशोरी अध्ययनका लागि उर्लाबारीमै कोठा भाडामा लिएर बस्दै आएको प्रहरीले जनाएको छ ।

स्थानीयले जानकारी दिएलगत्तै इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीको टोलीले घटनास्थलमा पुगेर किशोरीको उद्धार गरेको थियो । उद्धार गर्दै उनलाई उपचार एवं स्वास्थ्य परीक्षणका लागि विराटनगर लगिएको छ ।प्रहरीको प्रारम्भिक अनुसन्धानबाट किशोरी बलात्कृत भएको पत्ता लागेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार किशोरीलाई प्रलोभनमा पार्दै एउटा होटलमा लगेर बलात्कार गरेको खुलेको छ ।बलात्कारपछि केही थाहा नपाउने अवस्थामा पुगेकी उनी गाईगोठमा पुगेकी थिइन् ।

घटनामा उर्लाबारी–५ मिलनचोकका ४१ वर्षीय रविन गुरुङलाई पक्राउ गरिएको दाहालले बताउनुभयो । गुरुङ उर्लाबारी–३ मा रहेको प्रार्थना रि–ट्रीट नामक रिसोर्टका सञ्चालक रहेको प्रहरीको भनाइ छ ।

किशोरीका अभिभावकले दिएको किटानी जाहेरीका आधारमा उनी पक्राउ परेका हुन् । गुरुङविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउने प्रहरीको तयारी छ । किशोरीलाई गुरुङले ललाइफकाइ प्रलोभनमा पारेर उर्लाबारी–४ स्थित कात्यानी हेरिटेज होटलमा लगी कोठा बुक गरेर राखेपछि बलात्कार गरेको खुलेको डीएसपी दाहालको भनाइ छ ।

उपचार सुरु गरेपछि अवस्था सामान्य बन्दै गएको दाहालले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म घटनामा एकजनाको मात्रै संलग्नता देखिएको छ । अनुसन्धानबाट अरुको संलग्नता देखिए पक्राउ गरेर कारबाहीको दायरामा ल्याइने उहाँको भनाइ छ । घटनासँग सम्बन्धित अरु विषय अनुसन्धानपछि यकिन हुने जानकारी दाहालले दिनुभयो ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू