काठमाडौँ । स्थानीय तह उपनिर्वाचन र विधानमाथि छलफल गर्नका लागि नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
‘स्थानीय तह उपनिर्वाचन र विधानमाथि उठेका प्रश्नबारे छलफल गर्न बैठक बोलाइएको हो । यसअघि विधानमा उठेका प्रश्नको हल गर्न बनाइएको कार्यदलले तयार गरेको प्रतिवेदन पनि पेस हुन्छ होला’, उनले भने ।
मङ्सिर ४ गते मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले विधानलाई लिपिबद्ध गर्न र पालिका सम्मेलनको कार्यविधि बनाउन छुट्टाछुट्टै कार्यदल गठन गरेको थियो ।
जसमा महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् । यता पालिका सम्मेलन गर्दा आउने प्रतिनिधिहरू पार्टी सदस्यको आधारमा कसरी आउने र निर्वाचन प्रक्रिया कस्तो बनाउने भन्ने विषयमा कार्यविधि बनाउन अर्को समिति बनेको थियो । यस कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन र सचिव हितराज पाण्डे रहेका थिए ।
गतवर्ष फागुनमा सम्पन्न विधान अधिवेशनमा प्रतिनिधिहरूले उठाएका प्रश्नलाई समेट्ने गरी विधान बनाउने अध्यक्ष प्रचण्डले प्रतिबद्धता जनाएका थिए । तर हलबाट आएका केही सुझाव विधानमा छुटेकाले कार्यदल बनाइएको नेताहरूले दाबी गरेका थिए ।