Tuesday, December 3, 2024
spot_img
Homeअन्तर्राष्ट्रियउत्तर कोरियाले युक्रेनविरुद्ध लड्न थप १५ सय सेना पठाएको दक्षिण कोरियाको दाबी

उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न थप १५ सय सेना पठाएको दक्षिण कोरियाको दाबी

दक्षिण कोरियाको गुप्तचर निकायका प्रमुखले उत्तर कोरियाले रुसमा थप १५ सय सैनिक पठाएको बताएका छन् । यी उत्तर कोरियाली सैनिकहरू रसियालाई मद्दत गर्न युक्रेनको मोर्चामा लडिरहेको दाबि गरिएको छ ।

अघिल्लो साता पनि दक्षिण कोरियाले उत्तर कोरियाली सैनिक युक्रेनी मोर्चामा लडिरहेको कुरा गरेको थियो । बुधबार दक्षिण कोरियाको गुप्तचर एजेन्सीका प्रमुख चो ताए यङले संसदीय समितिलाई यसबारे जानकारी दिएका थिए । बैठकपछि दक्षिण कोरियाका सांसदहरूले पनि यसको पुष्टि गरेका छन् ।

उत्तर कोरियाले डिसेम्बरसम्ममा आफ्ना १० हजार सैनिक रुस पठाउने तयारी गरिरहेको दक्षिण कोरियाली गुप्तचर प्रमुख चो ते यङले बताएका छन् । हालै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि आफूसँग १० हजार उत्तर कोरियाली सैनिक रुसको तर्फबाट युद्ध लड्न तयार रहेको जानकारी रहेको दाबी गरेका थिए । पछिल्लो दुई वर्षमा रुस र उत्तर कोरियाबीचको सम्बन्ध निकै सुमधुर बनेको छ ।

जुन महिनामा दुवै देशले महत्वपूर्ण रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए जसअन्तर्गत कुनै पनि देशमा आक्रमण भएमा दुवै देशले एकअर्कालाई तत्काल सैन्य सहायता उपलब्ध गराउनेछन् ।

दक्षिण कोरियाको गुप्तचर निकायका प्रमुखले पनि उत्तर कोरियाले सन् २०२३ को अगस्टदेखि करिब १३ हजार कन्टेनर तोपखाना, मिसाइल र अन्य हतियार रुस पठाएको दाबी गरेका छन् । युक्रेन युद्धमा सहयोगको बदलामा रुसले उत्तर कोरियालाई महत्वपूर्ण हतियार र प्रविधि उपलब्ध गराउन सक्ने दक्षिण कोरियाको डर छ ।

उनीहरूले उत्तर कोरियाको आणविक र मिसाइल कार्यक्रममा रुसले पनि सहयोग गर्न सक्ने आशंका गरेका छन् । तर, अमेरिका र नेटो देशहरूले अहिलेसम्म उत्तर कोरियाले युक्रेनको मोर्चामा आफ्ना सेना पठाएको पुष्टि गरेका छैनन् ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू