Wednesday, March 19, 2025
spot_img
Homeगृहपृष्ठआाँखा शिविरमा ९१ जनाको निःशुल्क शल्यक्रिया

आाँखा शिविरमा ९१ जनाको निःशुल्क शल्यक्रिया

खोटाङ, पुस ८ गते । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा आयोजना गरिएको तीन दिने निःशुल्क आँखा शिविरमा ९१ जनाको सफल शल्यक्रिया गरिएको छ । हलेसी बजारस्थित आँखा तथा कान उपचार केन्द्रको कार्यालयमा बिहीबारदेखि शनिबारसम्म सञ्चालन भएको शिविरमा ९१ जनाको अप्रेसनमार्फत उपचार गरिएको हो । शनिबार शल्यक्रिया गरिएका बिरामीहरुको आँखाको पट्टि आइतबार बिहान खोलिएको हो ।

९१ मध्ये ६४ जनाको मोतीविन्दुको शल्यक्रिया गरिएको आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो । अन्य २७ जनाको आँखामा मासु पलाएको, मासुको ढल्लो देखिएको (माइनर) शल्यक्रिया गरिएको उहाँको भनाइ छ । तीन दिनसम्म सञ्चालन भएको शिविरमा पाँच सय ९० जनाले निःशुल्क सेवा लिएका छन् । चार सय बढीलाई निःशुल्क औषधि तथा एक सय ५० बढीलाई निःशुल्क चस्मा वितरण गरिएको श्रेष्ठले बताउनुभयो । शल्यक्रिया गरिएको ९१ जनालाईनै कालो चस्मा पनि निःशुल्क प्रदान गरिएको छ ।  

शिविरमा आँखा उपचार गराउन हलेसी तुवाचुङ नगरपालिकासँगै छिमेकी पालिकाहरु रावा बेसी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, सोकला गाउँपालिका लगायत अन्य पालिकासँगै ओखलढुंगा, उदयपुर जिल्लाका नागरिकहरु हलेसी आएका थिए । आँखाको समस्या भएका वृद्धवृद्धादेखि बालबालिकासम्मलाई परिवारका अन्य सदस्यहरुले शिविरमा लिएर आएका थिए ।

आँखाको समस्या भएका नागरिकहरुको सहजताका लागि हलेसीमा आयोजना गरिएको निःशुल्क आँखा शिविर हलेसी तुवाचुङ नगरपालिका, नेपाल नेत्र ज्योती संघ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा उपचार केन्द्र सहयोग समितिले आयोजना गरेको हो । शिविरमा प्राविधिक सहयोग सगरमाथा चौधरी आँखा अस्पताल लाहानको रहेको छ ।

शिविरको बिहीबार हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईले औपचारिक उद्घाटन गर्नुभएको थियो । शिविरको औपचारिक उद्घाटन गर्दै प्रमुख राईले नगरपालिकाले नागरिकको स्वास्थ्य उपचारका लागि आँखा शिविरसँगै विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो । पाठेघरको समस्या भएका महिलाहरुको निःशुल्क अप्रेसनदेखि नगर अस्पताल सञ्चालन गरेर बिमा गर्ने र बिमाको उपचार हुने व्यवस्था मिलाउनेसम्मको स्वास्थ्य क्षेत्रमा काम गरिरहेको बताउनुभएको थियो । 

हलेसीमा लगातार दोस्रो वर्ष आँखा शिविर आयोजना गरिएको हो । अघिल्लो वर्ष भएको आँखा शिविरमा सात सय ६५ जनाले निःशुल्क आँखा परीक्षण गराएका थिए । जसमध्ये ७६ जनाको शल्यक्रिया भएको थियो । 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू