Thursday, December 5, 2024
spot_img
Homeमनोरन्जन‘अग्निदहन’ बोक्सी प्रथाको उन्मुलन

‘अग्निदहन’ बोक्सी प्रथाको उन्मुलन

यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘अग्निदहन’ले सोमबार पत्रकार तथा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै फिल्मबारे जानकारी दिएको छ । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित रहेर तयार पारिएको फिल्मले रिलिजको छेकोमा पत्रकारसँग अन्तरक्रिया गरेको हो ।

फिल्मका प्रस्तुतकर्ता तथा परिकल्पनाकार कोविदशरण उपाध्यायले बोक्सी प्रथा उन्मुलन गराउन आफुहरुले फिल्म बनाएको बताए । ‘समाजमा बोक्सी छैन भन्ने सन्देश दिन हामीले फिल्म बनाएका हौं । बोक्सीका नाममा अझै पनि महिलामाथि अत्याचार भइरहेका घटना बेला बेलामा सार्वजनिक भइरहन्छन् । हामी फिल्ममार्फत बोक्सी हुँदैन र महिलालाई बोक्सीका नाममा अत्याचार गरिनुहुन्न भन्ने सन्देश दिन चाहन्छौं’, उनले भने ।

फिल्मकी कलाकार प्रमिला तुलाचनले आफूले ‘बोक्सी’ को आरोप लागेकी माइली दमिनीको चरित्र निर्वाह गरेको जानकारी दिँदै त्यो चरित्र अध्ययन गर्न सुकुम्बासी बस्ती पुगेको खुलाइन् । ‘मैले निर्वाह गरेको चरित्र निकै चुनौतीपूर्ण थियो । समाजको दुःखी, गरिब महिलाप्रति गरिने व्यवहार, एकल महिलालाई गरिने दुव्र्यवहार, असहाय महिलालाई लगाइने लाञ्छनाजस्ता दृश्य देखेर यही चरित्रलाई पर्दामा उतार्ने प्रयास गरेकी छु’, उनले भनिन् ।

अर्की कलाकार तुलसी क्षेत्रीले बोक्सीको आरोप लागेका महिलालाई धामीझाक्रीले दिने यातना साँच्चै असह्य हुने गरेको बताइन् । ‘फिल्ममा मलाई धामीले फलाम डामेको दृश्य छ । त्यो दृश्यको सुटिङ गरेको भोलिपल्टसम्म मेरो शरीरमा घाउ थियो । बोक्सीको आरोप लागेका महिलालाई साँच्चै धामीले त्यसरी डाम्दा उनीहरुलाई झन कति पिडा भयो होला’, उनले भनिन् ।

निर्देशक घनश्याम लामिछानेले आफ्नो फिल्म व्यावसायिक हिसाबले नबनाएको बताए । ‘मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी रुपमा अभियानको रुपमा अगाडि बढाउन फिल्म निर्माण गरेका हौं’, उनले भने ।
फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङको अभिनय छ ।

फिल्ममा लोकमणी पौडेलको कथा, पटकथा तथा संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन छ ।
यो फिल्म भारतको बिहारस्थित सीतामढीमा कमाण्डेन्ट अफ एसएसबी–२० औं बटालियनमा बटालियन प्रमुख गिरीशचन्द्र पाण्डेय र फिल्मको निर्माण पक्षको उपस्थितिमा प्रदर्शन गरिएको थियो ।

नेपालको निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले समेत हेरिसकेको यो फिल्मलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू